समाजवादी जनता पार्टीका अध्यक्ष सिंहको ‘संविधान निर्माणः घटना र अनुभूति’ पुस्तक विमोचन

काठमाडौं ।

समाजवादी जनता पार्टीका अध्यक्ष एवं पूर्व कानूनमन्त्री प्रेमबहादुर सिंहको ‘संविधान निर्माणः घटना र अनुभूति’ नामक पुस्तक विमोचन भएको छ । शनिबार काठमाडौंमा एक समारोहकाबीच पूर्वराष्ट्रपति डा. रामवरण यादव र सत्तारुढ दल नेकपाका नेता एवं संविधानसभाका पूर्वसभामुख सुवास नेम्वाङले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन् ।

 

पुस्तकको विमोचन गर्दै पूर्वराष्ट्रपति यादवले संविधानका असन्तुष्टीलाई समयमै संबोधन गर्नुपर्नेमा जोड दिए । उनले संविधानको मर्म र भावनाअनुसार दलहरु चलेका छन् कि छैनन् ? भनेर ध्यान जान आवश्यक रहेको बताए । उनले मुलुकमा राजनीतिक परिवर्तनको छोटो अवधिमै नेतृत्वप्रति असन्तुष्टि बढ्नु दुःखद् भएको टिप्पणी गर्दै असन्तुष्टिलाई समयमै सम्बोधन गर्नेतर्फ ध्यान दिन दलका नेताहरुलाई सुझाव दिए । राजनीतिक दलको नेतृत्वप्रति असन्तुष्टी जनाउँदै ‘राजनीतिक नेतृत्वबाट कहीँ–कतै त्रुटि त भएको छैन ?’ भन्दै यादवले प्रश्न गरे । डा. यादवले गणतन्त्र र समानुपातिक समावेशीको सिद्धान्त आत्मसाथ भएको छ कि छैन ? भन्ने विषयमा नेतृत्वले ध्यान दिनुपर्नेमा पनि जोड दिए ।

त्यस्तै कार्यक्रममा सत्तारुढ दल नेकपाका नेता एवं संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङले सोच–विचार गरेरै संविधान निर्माण गरिएकाले कुनै त्रुटि नरहेको जिकिर गरे । संविधानले अधिकार दिएपनि क्षमता, बुद्धि, विवेक दिन नसक्ने भन्दै उहाँले राजनीतिक नेतृत्वले क्षमता प्रदर्शन गर्नुपर्नेमा जोड दिए ।नेम्वाङले संविधान कार्यान्वयनका क्रममा सम्पूर्ण शक्ति एक ठाउँमा आएकाले कार्यान्वयनकाक्रममा देखिएका असन्तुष्टि सम्बोधन गर्न प्रयासरत् रहेको दाबी गरे ।

कार्यक्रमका सभापति तथा पुस्तकका लेखक सिंहले संविधान निर्माणका हरेक घटनामा सहभागी भएर आफूले गरेको अनुभव भावि पुस्ताका लागी पठनीय हुने ठानेर आफूले संविधान निर्माणको पाटोलाई दस्तावेजीकरण गरेको बताए । उनले राजनैतिक व्यवस्था परिबर्तन भई संविधान निर्माणपछि यसको कार्यान्वयन गर्दै विकास र समृद्धिको बाटोमा अग्रसर हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपालको इतिहासमा जनताका कारण नभइ राज्य सन्चालककै कारण व्यवस्था उल्टिने गरेको उदाहरण दिँदै वर्तमान व्यवस्थालाई फाल्ने कि राख्ने ? भन्ने विषय पनि राज्य सन्चालककै कार्यशैलीमा निर्भर रहने जिकिर गरे । पुस्तकमाथि वरिष्ठ अधिवक्ता थापा, संविधानविद् डा. भीमार्जुन आचार्य र वरिष्ठ अभिवक्ता एवं राष्ट्रियसभाका सदस्य राधेश्याम अधिकारीले टिप्पणी गरेका थिए ।

प्रकाशित मिति: शनिवार, भदौ ७, २०७६, ०६:३४:००
Share this content
Comments